नेतृत्वको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वमाथिको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय भएको टिप्पणी गरेका छन् ।
३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले नेतृत्वका लागि वैचारिक, राजनीतिक र संगठनात्मक विश्वास मुख्य आधार हुने बताए । पछिल्लो समय पार्टीभित्रै पार्टी र नीतिमाथि प्रश्न उठिरहेको बेला महासचिव पोखरेलले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले युवापुस्ताले पार्टी नेतृत्वसँग जिम्मेवारी र अवसरको माग गर्नु स्वाभाविक र जायज भएको पनि बताए । तर आन्दोलनको समग्र नेतृत्व गर्नसक्ने क्षमता, संगठनात्मक दक्षता र व्यापक विश्वास निर्माण गर्न सके मात्र नेतृत्व विकास हुने उनको भनाइ छ । उनले पछिल्लो समय समाजमा पुरानाले गरेनन् भन्ने भाष्य निर्माण गरिएको भन्दै त्यसबाट प्रभावित नहुन समेत पार्टी कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै उनले भने, ‘नेतृत्वको प्रश्न स्वाभाविक रूपमा अपेक्षाको कुरा मात्र होइन, नेतृत्व भनेको विश्वासको कुरा पनि हो । जबसम्म बहुसङ्ख्यक मान्छेको विश्वास जित्न सक्दैन तबसम्म नेतृत्व हुन सक्दैन । त्यसकारण नेतृत्वको प्रश्न के हो त ? भन्दा वैचारिक, राजनीतिक हिसाबले पार्टीका बहुसङ्ख्यक सदस्यहरूको विश्वास जित्ने कुरा हो । विश्वास जित्नसक्दा खेरी जुनसुकै उमेरको पनि नेता बन्न सक्छ । समयको परिस्थितिअनुसार युवाहरूले जुन हिसाबले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने माग राख्नुभयो त्यो जायज छ । तर त्यसको एउटै अर्थ हो वैचारिक राजनीति र संगठनात्मक रूपमा आन्दोलनको समग्र नेतृत्व गर्ने क्षमता र विश्वास युवापंक्तिभित्र विश्वास गर्न सक्नुपर्दछ ।’
उनले थपे, ‘त्यसले नै नेतृत्व विकास गर्नुपर्दछ भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ । यो मनोगत आग्रहको विषय मात्रै बन्नु हुँदैन । अहिले पुरानाले गरेनन् नयाँले गर्छ भन्ने भाष्य निर्माण गरियो । त्यसले हामी प्रभावित भइरहेका छौँ । वास्तवमा समाजको विकासको प्रश्न एउटा पुस्ताको प्रश्न मात्रै होइन ।’
समाजको विकास केवल एउटा पुस्ताको प्रश्न नभई समग्र राजनीतिक दृष्टि र नेतृत्व क्षमतासँग सम्बन्धित विषय भएको उनको धारणा छ ।