विज्ञान प्रविधि मन्त्रालयमा किन थपियो 'नवप्रवर्तन', नयाँ मन्त्रालयका काम र सामुन्नेका चुनौती यस्ता
तस्बिर स्रोत, Ministry of Education, Science & Technology
सरकारले 'नवप्रवर्तन'लाई प्राथमिकतामा राख्दै 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' गठन गर्नु सकारात्मक कदम भए पनि त्यसको प्रभावकारिता भने बजेटको विनियोजन र निर्माण हुने नियम एवं कानुनले निर्धारण गर्ने सरोकारवालाहरूले बताएका छन्।
यसअघि विज्ञान तथा प्रविधिको विषय कहिले शिक्षा मन्त्रालयअन्तर्गत, कहिले वातावरण मन्त्रालयसँग जोडिएर त कहिले छुट्टै 'विज्ञान तथा प्रविधि मन्त्रालय'का रूपमा सञ्चालन हुँदै आएको थियो। 'नवप्रवर्तन'लाई मन्त्रालयकै नाममा समेटेर प्राथमिकता दिइएको भने यो पहिलो पटक हो।
"विज्ञान तथा प्रविधि मन्त्रालय पहिलेदेखि नै अस्तित्वमा थियो र 'राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६' पहिले नै ल्याइएको पनि हो। अहिले 'नवप्रवर्तन' जोडिएको विषय त्यसैको निरन्तरता वा त्यसलाई थप सम्बोधन गर्ने प्रयास हुन सक्छ," वातावरण वैज्ञानिक तथा अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठले बीबीसी न्यूज नेपालीसँग भने।
पूर्वमन्त्री तथा हालका प्रतिनिधिसभा सदस्य महावीर पुनले पनि लामो समयदेखि विज्ञान प्रविधि मन्त्रालयलाई शिक्षाबाट छुट्याइनुपर्ने र अनुसन्धान तथा नवप्रवर्तनलाई समेटेर भिन्दै मन्त्रालय गठन हुनुपर्ने माग गर्दै आएका थिए। उनले सरकारले गरेको नयाँ कार्यविभाजनप्रति हर्षित सुनिए।
"यो विषयमा मैले धेरै सङ्घर्ष गरेँ, तर आफैँ मन्त्री हुँदा पनि छुट्ट्याउन सकिनँ। अहिलेको बहुमतको सरकारले यो गर्नैपर्छ भनेर मेरो धर्नाजस्तै थियो," उनले बीबीसीसँग भने।
नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ राजपत्रमा प्रकाशित भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले हालै मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। नवगठित 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय'को जिम्मेवारी हाल प्रधानमन्त्री वालेन्द्र शाह आफैँले सम्हालेका छन्।
उक्त मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानुन तथा मापदण्ड निर्माण गर्ने जिम्मेवारी दिइएको छ।
त्यस्तै यसले विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवर्द्धन र विकास सहितका विषय पनि हेर्ने भनिएको छ।