सुधन गुरुङ : केपी शर्मा ओली र रमेश लेखकमाथि 'अनुसन्धान जारी', के गृहमन्त्रीमा फर्कँदै छन्?
प्रहरीले तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारका गृहमन्त्री रमेश लेखकविरुद्धको अनुसन्धान टुङ्गो लगाउन बाँकी नै रहेको अवस्थामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना सहप्रवक्ताले उनीहरूलाई पक्राउ गरेर चर्चा कमाएका पूर्वगृहमन्त्री सुधन गुरुङ भने पुरानै जिम्मेवारीमा फर्कन सक्ने सङ्केत गरेका छन्।
सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरुङले वालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकारमा गृहमन्त्री बनेको २७औँ दिन "नैतिकताका आधारमा" पदबाट राजीनामा दिएका थिए।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताका अनुसार भदौ २३ र २४ का घटनाका सन्दर्भमा ओली र लेखकमाथि प्रहरी अनुसन्धान जारी रहे पनि गुरुङका हकमा भने सम्पत्तिको स्रोतका सन्दर्भमा "कहिँकतै जाहेरी परेको जानकारी नभएकाले" कानुनी विषय बनेको छैन।
तथापि संसद्को आउँदो अधिवेशनमा गुरुङमाथि लागेको आरोपबारे छानबिन समिति बन्ने रास्वपा सहप्रवक्ता रमेश प्रसाईले बीबीसीलाई जानकारी दिए। उनका अनुसार पार्टीका सांसदहरूसँगको हालै भएको एउटा अनौपचारिक छलफलमा सभापति रवि लामिछानेले "गुरुङका सम्बन्धमा संसदीय छानबिन समिति बनाइने" बताएका थिए।
"नेतृत्वको धारणाचाहिँ संसदीय छानबिन समिति बनाएर उहाँको सम्पत्तिको स्रोतको छानबिन गरेर उहाँलाई फर्काउन पर्छ भन्नेजस्तो छ," प्रसाईले भने।
गुरुङ गृहमन्त्री बन्नासाथ प्रहरीले ओली र लेखकसहितका उच्चपदस्थ नेताहरूलाई पक्राउ गरेको थियो। यद्यपि सर्वोच्च अदालतको आदेशका आधारमा उनीहरू दुवै जना हिरासतमुक्त भइसकेका छन्।
प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच कुराकानी भएरै पार्टीका सांसदहरूबीच सभापति लामिछानेले उक्त विषय राखेका हुन सक्ने आफूले बुझेको सहप्रवक्ता प्रसाई बताउँछन्।