वैदेशिक रोजगारीबाट फर्किएकालाई दिइने सीप पासपोर्ट के हो र फाइदा के?
वैदेशिक रोजगारीमा गएर फर्किएका नेपालीको सीप र पुँजीलाई नेपालमै प्रयोग गर्नका लागि सीप पासपोर्टको अवधारणा ल्याइएको र यसमाथि छलफल गरेर कार्यान्वयनमा लैजाने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
गत सोमवार संसद्मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई सीप पासपोर्टमार्फत् अभिलेखीकरण गरेर अन्तर्राष्ट्रिय व्यावसायिक प्रमाणीकरण उपलब्ध गराउने जनाएको थियो।
यसले सीपलाई अन्तर्राष्ट्रिय स्तरको पहिचान दिलाउन मद्दत गर्ने बताइए पनि लक्षित वर्ग कम देखिएको र कार्यान्वयनमा थुप्रै जटिलताहरू देखिएको एक जना श्रमसम्बन्धी विज्ञले बताएका छन्।
खासगरी नेपालबाट दक्षिण कोरिया, इजरेल र जापानमा निश्चित समयका लागि नेपालीहरू रोजगारीका लागि जाने गरेका छन्। त्यहाँबाट फर्किएकामध्ये केहीले आफ्नो सीप नेपालमा प्रयोग पनि गरेका छन्।
त्यसबाहेक ठूलो सङ्ख्यामा नेपालीहरू खाडी मुलुकमा पनि जाने गरेका छन्।
अहिले स्थानीय तहका पालिकाहरूले नेपाल फर्किनेहरूको तथ्याङ्क राख्न सुरु गरिसकेको मन्त्रालयले जनाएको छ।
सरकारले अहिले पनि वैदेशिक रोजगारीमा गएर फर्किएका 'रिटर्नी माइग्रेन्ट' लाई उनीहरूको तथ्याङ्क सङ्कलन गरेर स्थानीय तहसँग सहकार्य गरी उनीहरूलाई व्यवसायमा जोड्ने काम गरिरहेको श्रम मन्त्रालयले जनाएको छ।