अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा 'नयाँ आक्रमण'
अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको जनाएको छ। त्यसको निशाना इरानी क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछाउने प्रयास गरिरहेका डुङ्गाहरूलाई बनाइएको उसको भनाइ छ।
अमेरिकी सेन्ट्रल कमान्डले एक वक्तव्यमा "आत्मरक्षाका लागि" र "इरानी फौजबाट उत्पन्न खतराबाट हाम्रो सेनालाई जोगाउन" आक्रमण गरिएको बताएको छ।
सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले "युद्धविरामका क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको" उल्लेख गरेका छन्।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर लडाइँ अन्त्यका लागि तत्कालै सम्झौता "तत्कालै नहुने" बताएपछि यो हमला भएको छ।
न्यूयोर्क टाइम्सका अनुसार हकिन्सले स्ट्रेट अफ होर्मुजस्थित इरानी जनसेनाको आधार रहेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास क्षेत्रलाई आक्रमणको निशाना बनाइएको बताएका छन्।
इरानका सरकारी सञ्चारमाध्यमले विस्फोटको आवाज सुनेपछि बन्दर अब्बासका स्थानीय अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्।
अमेरिका र इरानबीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने स्पष्ट भइसकेको छैन।