बन्दुकधारीको निशानामा 'ट्रम्पसहित प्रशासनका अधिकारीहरू'
डोनल्ड ट्रम्पसमेत सहभागी रात्रिभोजमा गोली चलाउने बन्दुकधारीको निशानामा अमेरिकी राष्ट्रपतिसहित उनको प्रशासनका अधिकारीहरू रहेको कार्यवाहक महान्यायाधिवक्ता टड ब्लान्चले बताएका छन्।
राजधानी वाशिङ्टन डीसीको एक होटेलमा शनिवार ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर जारी रहँदा सुरक्षा जाँचस्थल नजिकै गोली चलाएको आरोपमा कोल थोमस एलन नाम गरेका ३१ वर्षीय व्यक्ति पक्राउ परेका थिए।
एनबीसी न्यूजसँग कुरा गर्दै ब्लान्चले सन्दिग्ध व्यक्तिको नियत अझै अनुसन्धानकै क्रममा रहेको बताए। तर प्रारम्भिक नतिजाबाट ती व्यक्तिले ट्रम्प प्रशासनका अधिकारीहरूलाई निशाना बनाउन खोजेको देखिएको उनले बताएका छन्।
एफबीआईको अपराध महाशाखा र आतङ्कवाद कार्यदलले उक्त घटनाको अनुसन्धान गरिरहेका छन्।
कार्यक्रम चलिरहेको हलबाट सुरक्षित स्थानमा पुर्याइएपछि ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए, "योभन्दा खतरनाक अरू कुनै पेसा होला जस्तो मलाई लाग्दैन।"
आइतवार विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले ट्रम्प र उनको मन्त्रिपरिषद्का सदस्यहरू हत्याको प्रयासबाट नडराएको उल्लेख गरेको छ।
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स असोसिएशनकी सभापति विजा जियाङले उक्त आक्रमण भयानक रहेको बताएकी छन्।