'म ठूलो अन्यायमा परेँ' : अरूले गरेको अपराधमा १७ वर्ष जेल परेका व्यक्तिको सङ्घर्ष
यूकेमा अर्को व्यक्तिले गरेको अपराधमा १७ वर्षसम्म थुनिएका एन्ड्रू माल्किन्सनले बलात्कारमा संलग्न वास्तविक व्यक्ति दोषी ठहर हुँदा आफूलाई राहत महसुस भएसँगै रिस पनि उठेको बीबीसीसँग बताएका छन्।
ग्रेटर म्यान्चेस्टरमा सन् २००३ भएको एक बीभत्स आक्रमणमा संलग्न भएको आरोप माल्किन्सनले २० वर्षसम्म खेप्नुपर्यो। त्यही आरोपमा उनी १७ वर्षसम्म जेल परे। यो घटनालाई ब्रिटिश न्यायसम्पादनको इतिहासकै एक सबैभन्दा खराब विफलताका रूपमा हेरिएको छ।
माल्किन्सनमाथि आरोप लागेको बलात्कारको घटनामा गत महिना पोल क्विन दोषी ठहर भए। त्यसपछिको पहिलो अन्तर्वार्तामा उनले भने - "ममाथि अन्याय भयो। ठूलो अन्याय भयो।"
उनले बीबीसीको 'स्याडो वर्ल्ड : स्टोलन यिअर्स' पड्कास्टमा "अन्ततः वास्तविक अभियुक्त पत्ता लगाएको"मा अधिकारीहरूलाई धन्यवाद दिए। उनले घटनाकी पीडित जति नै आफूले पनि राहत महसुस गरेको बताएका छन्।
"उनले अहिले कस्तो महसुस गरिरहेकी होलिन्?'" उनी भन्छन्।
घटनाकी पीडितसँगै आफूले पनि लामो समय पीडा पाएको उनको भनाइ छ।
बलात्कारसहित भौतिक आक्रमणमा ५२ वर्षका क्विन दोषी ठहर हुँदा माल्किन्सन इटलीको रोम सभ्यताका प्राचीन भग्नावशेषहरूमा घुमिरहेका थिए।