USA denies Iran's national football team accommodation during the 2026 FIFA World Cup, forcing them to base in Mexico and travel for matc…
मेक्सिको सिटी । सन् २०२६ को फिफा विश्वकपअघि नयाँ विवाद उत्पन्न भएको छ । अमेरिकाले इरानको राष्ट्रिय फुटबल टोलीलाई प्रतियोगिताभर आफ्नो भूमिमा बस्न अनुमति नदिएपछि टोलीले मेक्सिकोमा बसेर अमेरिकामा हुने खेल खेल्नुपर्ने भएको छ ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले सोमबार पत्रकार सम्मेलनमा फिफाले आफ्नो सरकारसँग विशेष अनुरोध गरेको जानकारी दिइन् । उनका अनुसार अमेरिकी अधिकारीहरूले इरानी टोलीलाई विश्वकप अवधिभर अमेरिकामा राख्न नचाहेको संकेत दिएका थिए । ‘उनीहरूलाई मेक्सिकोमा बस्न नदिने कुनै कारण हामीसँग छैन,’ शिनबाउमले भनिन् ।
इरानको टोलीले अब मेक्सिकोको सीमावर्ती शहर टिजुआनामा आफ्नो बेस क्याम्प बनाउनेछ । त्यहाँबाट टोलीले खेल हुने दिन अमेरिकातर्फ यात्रा गर्नेछ । इरानले समूह ‘जी’ अन्तर्गत तीन खेल अमेरिकामा खेल्ने तालिका छ ।
पहिलो खेल जुन १५ मा न्यूजिल्यान्डविरुद्ध लस एन्जलसमा हुने छ । दोस्रो खेल जुन २१ बेल्जियमविरुद्ध लस एन्जलसमै खेलिनेछ भने तेस्रो खेल जुन २६ इजिप्टविरुद्ध छ । यो खेल सियाटलमा हुनेछ ।
इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले यसअघि टोलीको बेस एरिजोनाबाट टिजुआनामा सारिने बताएका थिए । फिफाले सोमबार यो निर्णय पुष्टि गरेको छ । उनका अनुसार यसले भिसासम्बन्धी झन्झट कम गर्नेछ र इरान एयरका सिधा उडानमार्फत टोली मेक्सिको पुग्न पनि सहज हुनेछ ।
इरानको विश्वकप सहभागिताबारे अमेरिकाले इजरायलसँग मिलेर फेब्रुअरीको अन्त्यमा इरानमाथि सैन्य हमला गरेदेखि नै प्रशन उठ्न थालेका थिए । त्यसपछि सुरु भएको युद्धले इरानले विश्वकप खेल्न आउने वा नआउने भन्ने अनिश्चितता बढाएको थियो ।
मार्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विश्वकपमा सहभागी हुन स्वागत गरे पनि टोलीलाई अमेरिकामा लामो समय बस्नु उनीहरूको आफ्नै सुरक्षा दृष्टिले उपयुक्त नहुने बताएका थिए ।
यसपछि इरानले फिफासँग आफ्ना समूह चरणका खेलहरू मेक्सिकोमा सार्नसमेत छलफल गरेको थियो । मेक्सिकोले त्यसबेला पनि आफू तयार रहेको जनाएको थियो । तर फिफाले खेल तालिका परिवर्तन गरेन ।