Nepali left politics faces crisis due to ideological deviation, populism, and generational gap. Restructuring requires production-oriente…
नेपाली वामपन्थी राजनीति आज जटिलता र चुनौतीको घेराभित्र उभिएको छ । सुदीर्घ गौरवशाली इतिहास बोकेको यो विचार र शक्ति स्वयं इतिहासको कठघरामा उभिन पुगेको छ । त्यसको बुझाइका लागि अहिले ०८३ सालको बस्तुगत परिस्थितिलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट नियाल्नुपर्ने हुन्छ । कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था ‘परिमाणात्मक ह्रास’ मात्र हो या ‘गुणात्मक विचलन’ हो भन्नेमा केन्द्रित भएर मात्र यसको यथार्थपरक विश्लेषण हुन्छ ।
सामान्यतः पञ्चायतकालमा यो आन्दोलन वर्गीय थियो र त्यसले नेपाली समाजको अर्धसामन्ती वर्गीय ढाँचालाई भत्काएर ऐतिहासिक भूमिका खेलेको थियो । ०४६ पछि नेपाली माटोमा जनताको बहुदलीय जनवाद र जनयुद्धको वैचारिक प्रयोग भएको थियो र त्यसले आन्दोलनलाई जीवन दियो । ०६२/०६३ को परिवर्तनपछि त्यो राजनीतिक पुँजी क्रमशः संसदीय जोडघटाउ, सत्ताकेन्द्रित गतिविधि र स्वाथीपूर्तिको अलमलमा विसर्जन गरियो । यसरी कम्युनिस्ट आन्दोलनले आफ्नो वर्गीय आधार र वैचारिक धार दुवै गुमाउन पुग्यो ।
वर्तमानको सबैभन्दा ठुलो चुनौती वैचारिक विचलन र दक्षिणपन्थी पपुलिज्मको बढ्दो प्रभाव हो । भर्खरको निर्वाचन तथ्याङ्कले वामपन्थी दलहरूको परम्परागत मताधार भत्किँदै गएको र नयाँ, बिचारहीन लोकरिझ्याईं शक्तिहरूको उदय भएको देखाउँछ । एमाले र माओवादी जस्ता मुख्य धारका वामपन्थी दलहरूको नीति, कार्यक्रम र जीवनशैली पुँजीवादी दलहरूसँग मिल्दो भयो । विचार र कार्यसम्पादनको तालमेल टुट्यो ।
परिणामतः जनताले विकल्पको विकल्प खोज्न थाले । यो कुनै आकस्मिक परिघटना नभई वामपन्थीहरूले आफ्नो क्रान्तिकारी चरित्रलाई संसदीय भासमा विलय गराउँदाको परिणाम थियो । विशेष गरी राष्ट्रिय स्वाधीनताका मुद्दा (एमसीसी) र रणनीतिक सम्झौतालाई वामपन्थी शक्तिहरूले स्वीकार गर्नु आन्दोलनको इतिहासमा एउटा गम्भीर रणनीतिक गल्ती थियो । यसले कम्युनिस्टको साम्राज्यवाद विरोधी छवि मात्र ध्वस्त पारेन, बरु कार्यकर्ता र आम जनतामा नेतृत्वको राष्ट्रिय अडानप्रति गम्भीर अविश्वास पैदा गरिदियो ।
वामपन्थी राजनीतिको सन्तुलन बिग्रनुको दोस्रो महत्त्वपूर्ण पक्ष भनेको जेनजी अर्थात् नयाँ पुस्तासँगको गहिरिँदो खाडल हो । गत भाद्रको जनविद्रोहले प्रष्ट पारेको छ कि नेपालको बहुमत जनसङ्ख्या रहेको नवयुवा पुस्ता पुरानो ढर्राको ‘एनालग’ नेतृत्व र अमूर्त क्रान्तिकारी जडसूत्रबाट सन्तुष्ट थिएन । श्रम बजारमा छिर्न लागेको युवालाई न त नेतृत्वको जेल जीवनसँग सरोकार थियो, न त युद्धका गाथाहरूसँग ।
उनीहरू त डिजिटल रूपान्तरण, रोजगारीको सुनिश्चितता र पारदर्शी सुशासन खोजिरहेका थिए । विश्वले डाकेको समृद्धि नेपालमा बोलाउन चाहन्थे । तर नेपाली वामपन्थी दलहरू पुरानै संरचना, कार्यशैली र नोकरशाही ढाँचामा जकडिएका थिए । युवा आवाज पूर्णतः दबाइएका र अंशतः प्रतिबन्धित थिए । परिणामस्वरुप, वामपन्थी क्याडर र नेतृत्वबिचको सम्बन्ध श्रद्धाबाट सन्देह र कमान्डबाट विचलनमा परिणत भएरै छाड्यो ।
पछिल्लो वामपन्थी आन्दोलनभित्र भयानक बुर्जुवाकरण देखियो । पार्टीका पूर्णकालीन कार्यकर्ता राजनीतिक प्रशिक्षण र जनसेवामा होइन बरु व्यक्तिगत लाभका काण्डमा जोडिन थाले । कमिसनतन्त्र, ठेक्कापट्टा र भ्रष्टाचारको जालोमा फसे । पालिका, वडा, उपभोक्ता समूह, सहकारी, पूर्वाधार निर्माण, सामग्री खरिद, ठेक्का जस्ता जनताले प्रत्यक्ष अनुभूत गर्ने क्षेत्रमा स्वार्थ बाझिने गरी मुछिए । वामपन्थी समाजवादी सुधारको एउटा पनि मौलिक नमुना पालिका तहमा प्रस्तुत गर्न सकेनन् ।
मार्क्सवादको सृजनशील कार्यान्वयन ओझेलमा पर्यो । उदारीकरण, बिचौलियातन्त्र, खुला प्रतिस्पर्धा जस्ता पुँजीवादी व्यवस्थाका पक्षपोषण बन्दै गए । वामपन्थीहरू केबल तिनैका सामान्य कर्ता मात्र बने । यो वैचारिक विचलन र परिणामगत शून्यताले गर्दा नै आजको नवपुस्ता वामपन्थी आन्दोलनबाट विमुख भएको हो । अझ विगत २० वर्ष र मूलत: समाजवाद उन्मुख संविधान जारी भएको परिस्थितिमा विचारलाई समयसापेक्ष अघि सार्न नसक्नु आन्दोलनलाई विचार विहीनतामा धकेल्नु नै थियो ।
नेपाली वामपन्थी राजनीतिलाई आर्थिक दृष्टिकोणबाट पनि हेर्नुपर्ने हुन्छ । खासमा मार्क्सवादी विचार अर्थव्यवस्थामा आधारित हुन्छ र उत्पादन सम्बन्ध तथा व्यवस्थामा परिवर्तनले नयाँ विचार जन्माउँछ । तर गणतन्त्रको स्थापना र नेपाली समाजको पुजीवादीकरण पछि पनि कम्युनिस्टहरूले यो विषयमा ध्यान दिएनन् ।
वामपन्थी सरकारहरूले रेमिट्यान्स अर्थतन्त्रको संरचनात्मक जाललाई तोड्न सकेनन् । कुल गार्हस्थ्य उत्पादनमा कृषि र औद्योगिक क्षेत्रको योगदान खुम्चिँदै गयो ।