'पाकेको भात खान पनि नदिई डोजर चलाए'
बुटवल । बुटवल उपमहानगरपालिका–४ दरबारमार्गका एक स्थानीयले घर खाली गर्न पर्याप्त समय नदिएकोमा गुनासो गरेका छन् ।
सरकारले डोजर चलाएपछि उक्त स्थानमा लामो समयदेखि बसोबास गरिरहेका भक्तराज बस्नेतले गम्भीर आपत्ति जनाएका हुन् । उनले आज (सोमबार) बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो घर भत्काउने क्रममा स्थानीय सरकारले अमानवीय व्यवहार गरेको आरोप पनि लगाए ।
आफूलाई राजनीतिक पीडित बताउने उनले घर भत्काउने सूचना अघिल्लो दिन राति मात्र दिइएकोमा आक्रोश व्यक्त गरे । 'अघिल्लो दिन साढे ८ बजे माइकिङमार्फत सूचना दिइयो, म बिहानैदेखि घर खाली गर्ने तयारीमा थिएँ, तर २ घण्टा समय माग्दा समेत बेवास्ता गरियो,' उनले भने, 'पाकेको खानासमेत खान नदिई डोजर लगाइयो ।'
बस्नेतले घरका सामान सार्न नपाउँदा आफ्नो लाखौँ रुपैयाँ बराबरको सम्पत्ति नोक्सान भएको बताए । त्यही सूचनाअनुसार उल्लेख गरिएका अन्य घरहरू भने हालसम्म नहटाइएको दाबी गर्दै उनले पहुँचका आधारमा विभेद गरिएको पनि आरोप लगाए ।
२०४७ सालमा गुल्मीको नयाँ गाउँमा सार्वजनिक जग्गा खाली गराउने क्रममा आफूमाथि गोली लागेको र घाइते भएको पनि उनले त्यहाँ बताएका थिए । आफ्नो खुट्टामा हालसम्म पनि गोली रहेको र निकाल्दा खुट्टा चल्न नसक्ने जोखिम रहेको चिकित्सकले बताएका उनको भनाइ थियो ।
तत्कालीन सरकारले उनीमाथि भएको उक्त घटना छानबिन गरी उपचार खर्च र क्षतिपूर्ति उपलब्ध गराएको थियो । सोही निर्णयअनुसार २०५२ सालमा सुकुमबासी समस्या समाधान आयोगमार्फत बुटवलमा उनलाई जग्गा उपलब्ध गराइएको र त्यही जग्गामा घर बनाएर आफू अहिलेसम्म बसिरहेको उनको भनाइ थियो ।
'सरकारी निर्णयअनुसार पाएको जग्गामा बसेको हुँ, तर बिना कुनै व्यवस्थापन मेरो घर भत्काइयो,' उनले भने, 'अब यस विषयमा कानुनी उपचार खोज्ने तयारीमा छु ।' पत्रकारहरूको प्रश्नको जवाफ दिँदै बस्नेतले आफू न्यायका लागि कानुनी प्रक्रियामा जाने तयारीमा रहेको पनि बताए ।
Bakhundole, Lalitpur01-5010630, 01-5010671[email protected][email protected][email protected][email protected]