Skip to content
काठमाण्डू-केरुङ रेलमार्गको अध्ययनलाई अन्तिम रूप दिँदै चीन, रक्सौल जोड्ने योजनाबारे भारतलाई नेपालका चार सुझाव
Politics
Politics·1 min read
Read in

काठमाण्डू-केरुङ रेलमार्गको अध्ययनलाई अन्तिम रूप दिँदै चीन, रक्सौल जोड्ने योजनाबारे भारतलाई नेपालका चार सुझाव

चीन र भारतले नेपालमा छुट्टाछुट्टै रेलमार्ग निर्माण गर्न रुचि देखाएका छन्।

नेपाली अधिकारीहरूका अनुसार चिनियाँ पक्षले काठमाण्डू-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी प्रतिवेदन अबको डेढ महिनामा सरकारलाई बुझाउने जानकारी दिएको छ भने काठमाण्डू उपत्यकालाई भारतको सीमासँग जोड्ने रेल्वे लाइनबारे नेपालले चारवटा सुझाव दिल्ली दिएको छ।

झन्डै डेढ महिनाअघि भारतको राज्यसभामा लिखित जबाफ प्रस्तुत गर्दै भारतका रेलमन्त्रीले १३६ किलोमिटर लामो रक्सौल-काठमाण्डू रेलमार्गको 'अन्तिम स्थलगत सर्वेक्षण' पूरा भएको र विस्तृत परियोजना प्रतिवेदन तयार भएको बताएका थिए।

केही दिनअघि मात्रै काठमाण्डू-केरुङ रेल्वे निर्माणबारे गरिएको अध्ययनमा संलग्न चिनियाँ टोलीले भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा आएर प्रस्तुति दिएको थियो।

त्यसमा उक्त रेलमार्गको डिजाइन र लागतसहितका विषयवस्तुहरू समेटिएको भए पनि नेपाली अधिकारीहरूले प्रतिवेदन प्राप्त भएपछि मात्रै महत्त्वाकाङ्क्षी मानिएको उक्त पूर्वाधारको निर्माण वा सम्भावित लगानीको ढाँचाजस्ता विषयमा छलफल हुने उल्लेख गरेका छन्।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिन्पिङले नेपाल भ्रमण गर्दा दुई देशका अधिकारीहरूले काठमाण्डू-केरुङ रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।

बयालीस महिनाको समयसीमासहित स्थलगत अध्ययन गरी सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी पाएका चिनियाँ प्राविधिकहरूले चिनियाँ पक्षले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिइरहेको जानकारी नेपाली पक्षलाई गराएको छ। उक्त अध्ययन चिनियाँ आर्थिक र प्राविधिक सहयोगमा भइरहेको छ।