Skip to content
ओली हटाउन एमालेमा युवाको विद्रोह : विशेष महाधिवेशनको माग गर्दै पुनर्जागरण भेला
Politics
Politics·1 min read
Read in

ओली हटाउन एमालेमा युवाको विद्रोह : विशेष महाधिवेशनको माग गर्दै पुनर्जागरण भेला

काठमाडौँ । नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको माग गर्दै युवा नेताहरूले पुनर्जागरण भेला गरेका छन्।

शनिबार काठमाडौँको मीनभवनमा आयोजित पुनर्जागरण भेला मार्फत केन्द्रीय सदस्यहरूसहितका प्रभावशाली युवा नेताहरूले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेका हुन्।

करिब चार घण्टासम्म चलेको उक्त भेलाले पार्टीको हालैको चुनावी पराजयको मुख्य जिम्मेवार वर्तमान नेतृत्वको कार्यशैली र कमजोरी भएको ठहर गरेको छ। भेलामा केन्द्रीय सदस्यहरू झपट रावल, नरेश रोकाया र समिक बडालसहित करिब १३० जना नेता-कार्यकर्ताको सक्रिय सहभागिता थियो।

सहभागीहरूले अहिलेको नेतृत्वले युवाहरूको भूमिकालाई नियतवश ओझेलमा पारेको र सक्षम व्यक्तिहरूलाई गुटबन्दीको आरोप लगाएर जिम्मेवारीबाट वञ्चित गरेको आरोप लगाएका छन्। पार्टीलाई अध्यक्षले कब्जामा लिएको र कार्यकर्तालाई विचारको बहस गर्न समेत नदिइएको भन्दै भेलाले अब सातै प्रदेशमा पार्टी पुनर्जागरण र पुस्तान्तरणको पक्षमा देशव्यापी अभियान चलाउने निर्णय गरेको छ।

एमालेकी पूर्व केन्द्रीय सदस्य नवीना लामाले पार्टीको रूपान्तरण अब अनिवार्य सर्त भइसकेको भन्दै यसका लागि विशेष महाधिवेशनको मागबारे देशभर बहस लैजाने बताइन्। अनेरास्ववियुका उपमहासचिव कमल जोशीले पनि अहिलेको नेतृत्वबाट पार्टी सही ठाउँमा पुग्न नसक्ने भएकाले नेतृत्व परिवर्तनको एजेन्डालाई प्रखर रूपमा उठाइने जानकारी दिए।

यसअघि नै १५ बुँदे रूपान्तरणको प्रस्ताव अघि सारेका यी युवाहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलनको कार्यलाई समेत तीव्रता दिने भएका छन्।

भेलामा सहभागी अधिकांश वक्ताहरूले ओलीले नेतृत्व नछाडेसम्म पार्टीको भविष्य सङ्कटमा पर्ने भन्दै खुलेरै आलोचना गरे।

पूर्व केन्द्रीय सदस्य रमेश पौडेल, अनेरास्ववियूका पूर्व अध्यक्ष सुजन कडरिया, बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, युवा सङ्घका उपमहासचिव उपेन्द्र शाही लगायतले पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त भएको दाबी गरे।