Skip to content
जर्मनीबाट ५,००० सैनिक फिर्ता गर्ने अमेरिकी निर्णयबारे बर्लिनले के भन्यो?
Politics
Politics·1 min read
Read in

जर्मनीबाट ५,००० सैनिक फिर्ता गर्ने अमेरिकी निर्णयबारे बर्लिनले के भन्यो?

जर्मनीबाट ५,००० को सङ्ख्यामा आफ्नो सैन्य उपस्थिति घटाउने अमेरिकी निर्णयबारे वाशिङ्टनसँग स्पष्टीकरण मागिएको नेटो सैन्य गठबन्धनले बताइरहेका बेला जर्मनीका रक्षामन्त्रीले अमेरिकी निर्णयलाई "पूर्वानुमानित" भनेका छन्।

समाचारसंस्था 'डीपीए'सँग कुरा गर्दै बोरिस पिस्टरिअसले "युरोपमा र त्यसमा पनि विशेष गरी जर्मनीमा अमेरिकी सैनिकहरूको उपस्थिति हाम्रो र अमेरिकाको पनि हितमा भएकोमा" जोड दिए।

नेटोकी प्रवक्ता एलिसन हार्टले गठबन्धनले "अमेरिकाको निर्णयका विवरणहरू बुझ्न उनीहरूसँग काम गरिरहेको" बताएकी छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्धका सन्दर्भमा जर्मन चान्सलर फ्रिडरिख मेर्ट्सको आलोचना गरेसँगै वाशिङ्टनले उक्त कदम चालेको हो। मेर्ट्सले इरानी वार्ताकारहरूबाट अमेरिका "अपमानित" भएको बताएका थिए।

जर्मनीमा अमेरिकाका ३६,००० सैनिक तैनाथ छन्, जुन इटालीमा १२,००० र यूकेमा तैनाथ १०,००० को तुलनामा युरोपकै धेरै हो।

जर्मनीमा सैनिक कटौतीबारे सोधिएको प्रश्नमा शनिवार राति ट्रम्पले भने: "हामी निकै घटाउँदै छौँ र ५,००० भन्दा पनि अधिक घटाउँदै छौँ।" उनले थप विवरण भने दिएनन्।

सँगसँगै ट्रम्पले इटाली र स्पेनबाट पनि अमेरिकी सैनिक फिर्ता गर्ने बताउँदै आएका छन्।